लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ
मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट गए राति दुई सय सात ग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
भारतीय नागरिक हुसेन यसअघि पनि विभिन्न लागुऔषध कारोबारसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको प्रवक्ता चन्दले बताए । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगरसहित नगद रू. २० हजारसमेत बरामद गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
बुधबार साँझ मात्रै बिर्तामोडबाट प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको थियो । बिर्तामोड नगरपालिका-५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड-५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड-१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड-५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट पनि ब्राउन सुगर प्लास्टिकसहित तीन ग्राम नौ सय ८० मिलिग्राम र प्लास्टिक बाहेक चार सय २० मिलिग्राम फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी दमकबाट प्रहरीले बुधबार नै प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका-६ स्थित सडकमा दमक-२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागी जाँच गर्दा उनको साथबाट ट्रामोल-५० लेखिएको दुई सय क्याप्सुल र स्पास्पान लेखिएको दुई सय थान ट्याब्लेट फेला परेकाले प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया