६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयको राजश्व संकलन ७५ प्रतिशत

चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयहरूले ७५ प्रतिशत राजश्व संकलन गरेका छन्। सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज,विराटनगर,मेची र तातोपानी भन्सार कार्यालयहरूले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजश्व संकलन गरेका हुन्।

चार भन्सार कार्यालयहरूले लक्ष्यअनुसार नै राजश्व संकलन गरेको बताएका छन्। समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ।

जसमा भारततर्फका वीरगञ्ज,विराटनगर,मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेका छन्। सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात् १३  प्रतिशत वृद्धि गरेको छ। सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो।

सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरूले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजश्व संकलन गरेको दाबी गरेका छन्। केही दिनअघि प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सहभागी चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन्। भन्सार प्रमुखहरूले गत वर्षको तुलनामा भन्सारमा राजश्व वृद्धि भएको बताए। वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजश्व संकलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गरे।

उनले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरूको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गरे। उनले विदाको दिन करिव ५ हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको बताए। उनले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताए। उनले स्थानीयहरूको मागअनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेको बताए।

उनले औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यान्न लगायतका वस्तुहरूलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरू पास गरेको बताए। उनले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजश्व संकलनमा वृद्धि भएको दाबी गरे।

विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजश्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताए। उनले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको बताए।

उनले पुससम्म सतप्रतिशतको अवस्था रहेको जानकारी दिए। उनले आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने संकेत देखिएको बताए। उनले यस वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताए। उनले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको बताए।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताए। उनले मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन गरेको बताए।

उनले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य राखेकोमा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताए। उनले मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको बताए।

चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेको बताए। उनले अघिल्लो वर्ष १३ अर्ब संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको बताए। उनले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजश्व संकलनमा वृद्धि गरेको पनि बताए।

उनले कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजश्व सकलन कम भएपनि अहिले बिस्तारै वृद्धि हुँदा राजश्व संकलनमा वृद्धि भएको दाबी गरे। उनले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताए।

चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको छ। तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन। सरकारको लक्ष्य पूरा हुनको लागि अबको ६ महिनामा ८ खर्बको राजश्व संकलन गर्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *