सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दुषित पानी खुवाउने गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको बताए । नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताए । शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताए । तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने जानकारी दिए ।
‘शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ,’ उनले भने ।
अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्नेकुराले मात्रै नेपाली जनताको मापन गर्ने नभइ नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया