भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् ।
बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए ।
उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताए । उनले अध्यादेशहरु ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताए ।
उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको बताए ।
विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताए ।
प्रतिक्रिया