नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले  ०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो। साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गरेकाे ०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट ०७९/८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए।

त्यस्तै, ०८१/८२ को असोज मसान्तसम्म सङ्कलित दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ। कोषले २०८०/८१ मा रु दुई अर्ब सात करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा रु एक अर्ब १५ करोड ८७ लाख रहेको छ।

उक्ता खुद मुनाफा रकमबाट रु २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए। ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ। साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ’, उनले भने।

कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए। त्यस्तै कोषको मधेश प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा पु¥याउने विश्वास उनले व्यक्त गरे।

‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ। साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ’, कार्यकारी निर्देशक कार्कीले भने।

सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनले बताए। त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे। नागरिक लगानी कोषले आफ्ना गतिविधिलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *