८ जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

मन्त्रिपरिषद्को पुस २६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना, गृहमन्त्रीस्तरको  पुस २८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ५ जना र पुस २८ गतेकै निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदीय जिम्मेवारी र जबाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिए ।

संगठनको विकास र सुदृढिकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमानदारीता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्ने र यसको बृहत्तर हितको लागि सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *