परराष्ट्रमन्त्री राणालाई प्रश्न– नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषि को हो ?
नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताएका हुन् ।
बैठकमा नेकपा (एमाले)की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरुमा नेपाली राहदानीको र्याङ्किङ दिनानुदिन घटिरहेको बताइन् ।
उनले नेपालको राहदानीको पोजिसन कमजोरस्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारका सरकारको ध्यान गएको छ कि छैन भन्दै पश्न समेत गरिन् । ‘हामीले विभिन्न रिपोर्टहरु हेरिरहेका छौं । त्यसमा हाम्रो पासपोर्टको र्याङ्किङ दिनानुदिन घटिरहेको पाइरहेका छौं । हाम्रो राजदानी कमजोर पोजिसनमा छ’ उनले भनिन् ‘यसलाई हामीले डिप्लोमेटिकली नेगोसिएसन या पहलकदमी गर्न सकिन्छ कि सकिँदैन ? मन्त्रीज्युले यस विषयमा ध्यान दिनुभएको छ कि छैन ?’
उनले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जवाफ माग गरेकी थिइन् । उनले फ्रि भिसाको व्यवस्था कम मात्र नेपाली नागरिक जाने देशसँग मात्र रहेको बताइन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नहुनु रहेको बताए । उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिएपनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताए ।
सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । उनले सरकारले एकैपटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाए ।
उनले भने–‘राजदानी कमजोर भएको जुन कुरा आयो त्यसमा सम्झौता अनुसार काम गरेन भने सजाय कडा हुनुपर्यो । गुणस्तर नभएको पासपोर्ट दिएपनि म सेटिङ मिलाएर मुक्त हुन्छु भन्ने मानसिकता भयो भने मान्छे डराउँदैन । त्यसकारण जे कन्ट्र्याक्ट भएको हो त्यही अनुसार नदिनेलाई त सजाय हुनुप¥यो नि । चोरले नदेख्नेगरी चोर्छ । डाँकाले त बताएरै ठगेर जान्छ । त्यसकारण कसैलाई डाँका हाल्न दिनु भएन ।’
नेकपा (एमाले)सा सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा बेपत्ता भएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि पहलकदमी गर्न माग गरे ।
उनले पछिल्लो पटक जोशीको रिहाईको लागि कुटनीतिक पहल हुन छोडकोप्रति परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए । ‘एक समय विपिन जोशीको रिहाईको लागि पहलकदमी निकै धेरै गरियो । तर अहिले सुस्ताएको जस्तो देखिएको छ । आज पनि रिहाईको लागि पहल भइरहेको जस्तो सूचना आयो । हामीले यसमा अलि बढी जोड दिनुपर्ने देखिन्छ । कति मान्छे बन्दी बनाइए ? कति मान्छे अपहरणमा परे ? भन्दापनि युद्धले निम्त्याउने कुरा र नेपाली भएकै कारणले हेपिने कुरालाई हामीले ध्यान दिनुपर्छ’ उनले भने ।
नेपाली काँग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौता अनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ ? भन्दै प्रश्न गरे ।
उनले वाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । उनले ऋण लिँदा परिणाममुखि परियोजना निर्माणका लागि मात्र लिनुपर्ने उनका धारणा छ । ‘बिआरआईका सन्दर्भमा प्रधानमन्त्रीज्युले भ्रमणका क्रममा गरेका कुराहरुको आधारमा नेपालले थेग्न सक्ने के कस्तो ऋण लिने तयारी सरकारले गरेको छ । राज्यसत्तामा जोसुकैको सरकार भएपनि हामीले आन्तरिक वाह्य ऋण होस् त्यसको परिचालन गर्ने नेचर हेर्दाखेरि गम्भिर हुनुपर्छ’ उनले भने ।
उनले नेपालले लिएको ऋण सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा मात्र खर्च हुने प्रवृत्तिले ठूलो हानी पुर्याउने बताए ।
प्रतिक्रिया