ग्वादर बन्दरगाहमा व्यापार सिर्जना गर्न पाकिस्तानको एक दशकको संघर्ष

चीनको समर्थन तर पाकिस्तानका चुनौतीहरू

पाकिस्तानले दक्षिणपश्चिमीमा रहेको बलुचिस्तान प्रान्तमा चीनद्वारा वित्त पोषित ग्वादर गहिरो समुद्री बन्दरगाहमा व्यावसायिक गतिविधि आकर्षित गर्न महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ।

भ्वाइस अफ अमेरिकाको एक रिपोर्टले स्थानीय असुरक्षा, आवश्यक सेवाहरूको अभाव, र दीर्घकालीन योजनाको अभावलाई ग्वादर बन्दरगाहको कमजोर प्रदर्शनका मुख्य कारणका रूपमा औंल्याएको छ।

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालको अध्यक्षतामा बुधबार भएको एक बैठकले बन्दरगाहको व्यापारिक सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न ठोस योजनाको आवश्यकता रहेको संकेत गरेको छ। २०१६ मा पहिलो पटक कन्टेनर ढुवानी भएको ग्वादर बन्दरगाहले लगभग एक दशकपछि पनि अपेक्षित प्रगति हासिल गर्न सकेको छैन।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा इकबालले ग्वादर बन्दरगाहको सञ्चालनलाई व्यवस्थित गर्न ूव्यावसायिक विश्लेषण र व्यापक सञ्चालन योजनाको अभावू रहेको बताए। उनले बन्दरगाहको पूर्ण सम्भावनालाई अनलक गर्न तत्काल प्रयास गर्न निर्देशन दिए।

छ महिना भित्र व्यापार गतिविधि बढाउन विस्तृत योजना तयार गर्नुपर्ने इकबालको निर्देशनलाई पाकिस्तानको आन्तरिक अव्यवस्थित योजना प्रक्रियाको संकेतका रूपमा हेरिएको छ।

ग्वादर बन्दरगाह सन् २००७ मा लगभग २५० मिलियन अमेरिकी डलरको लागतमा निर्माण गरिएको थियो र २०१३ देखि चीनको चाइना ओभरसी पोर्ट्स होल्डिङ कम्पनीले यसको सञ्चालन गरिरहेको छ।

यो बन्दरगाहलाई ६० अर्ब अमरेकि डलरको चीन(पाकिस्तान आर्थिक करिडोर अन्तर्गत ‘मुकुटको गहना’ को रूपमा प्रस्तुत गरिए पनि यसले अपेक्षाकृत व्यापारिक गतिविधि हासिल गर्न सकेको छैन।

पाकिस्तानको सामुद्रिक मामिला मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२२-२३ आर्थिक वर्षमा ग्वादरले पाकिस्तानको समुद्री व्यापारको १ प्रतिशतभन्दा कम हिस्सा मात्र व्यवस्थापन गर्न सकेको छ।

सिड्नीस्थित विश्वविद्यालयका पाकिस्तान नीति विशेषज्ञ मोहम्मद फैसलले भीओएलाई दिएको प्रतिकृयामा ग्वादरको सुरुवात नै ‘भू-राजनीतिक परियोजना’को रूपमा भएको र यसले व्यापारिक व्यवहारलाई प्राथमिकतामा नराखेको बताए।

ग्वादर बन्दरगाह वरपरको पूर्वाधार विकासमा लगभग १ अर्ब अमेरिकी डलर लगानी गरिएको भए पनि पानी, बिजुली, र सुरक्षा जस्ता आधारभूत सेवाको अभावले गर्दा अन्तर्राष्ट्रिय व्यवसायीहरूको लागि यो गन्तव्यको रूपमा आकर्षक बन्न सकेको छैन।

यससँगै, नयाँ ग्वादर अन्तर्राष्ट्रिय विमानस्थल, जुन चीनको २३० मिलियन अमेरिकी डलर अनुदानमा निर्माण भएको थियो, लामो ढिलाइपछि गत महिना मात्र सञ्चालनमा आएको छ। तर यो विमानस्थलले अझै पनि साप्ताहिक केही सीमित उडानहरू मात्र व्यवस्थापन गरिरहेको छ।

बलुचिस्तान प्रान्त, जहाँ ग्वादर बन्दरगाह अवस्थित छ, दुई दशकदेखि विद्रोहको चपेटामा छ। पछिल्ला महिनाहरूमा हिंसात्मक घटनाहरू बढेका छन्।

हालै ग्वादर पोर्ट अथोरिटी परिसरमा भएको आक्रमणमा सुरक्षाकर्मी र विद्रोही समूहहरूका सदस्यहरूको मृत्यु भएको थियो। यसले बन्दरगाह वरपरको क्षेत्रमा सुरक्षा अवस्था अझै कमजोर रहेको पुष्टि गरेको छ।

ग्वादर बन्दरगाह चीनको लागि मध्यपूर्व र मध्य एसियासँग छोटो व्यापार मार्गको सुविधा प्रदान गर्ने रणनीतिक परियोजना हो। यसका साथै, पाकिस्तानले ग्वादरलाई भारतको चाबहार बन्दरगाह परियोजनाको रणनीतिक विकल्पका रूपमा विकास गर्न खोजेको छ।

पाकिस्तान(चीन संस्थाका कार्यकारी निर्देशक मुस्तफा हैदर सैयदका अनुसार, बन्दरगाहमा व्यापारिक गतिशीलताको कमीले दुई देशबीचको सम्बन्धलाई असर गर्ने छैन। ‘राज्यस्तरीय सम्बन्ध दीर्घकालीन रणनीतिक चासोमा आधारित हुन्छन्। कुनै पनि परियोजना वा घटना यस्तो सम्बन्धलाई कमजोर पार्न सक्दैन,’ सैयदले भीओएलाई बताएका छन्।

यद्यपि ग्वादरको अवस्था श्रीलंकाको हम्बनटोटा बन्दरगाहजस्तो ऋणको कारण चिनियाँ नियन्त्रणमा नजाने विश्लेषकहरूले विश्वास गरेका छन्।

ग्वादर बन्दरगाह पाकिस्तानको लागि रणनीतिक र आर्थिक रूपमा महत्त्वपूर्ण छ। तर यसको सफलताका लागि पूर्वाधार विकास, दीर्घकालीन योजना, र सुरक्षा चुनौतीहरूको समाधान अत्यावश्यक छ। अब, पाकिस्तानले यो परियोजनालाई केवल भू(राजनीतिक महत्वभन्दा बाहिर लैजाने र वास्तविक व्यापारिक सफलता दिलाउन सक्षम योजना लागू गर्ने चुनौती सामना गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर