
ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ


जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेस, अफिम र गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध लागूऔषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमारलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।
हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।
यस्तै लागूऔषध गाँजा १०१ किलोसहित अर्का एकजना पक्राउ परेका छन् ।
रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट आज आइतबार बिहान साढे ५ बजे सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको हो ।
चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको डिएसपी अर्यालले जानकारी दिए ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया