रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।
सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ । प्रहरीको अनुसन्धानका क्रममा मुद्दा प्रक्रियामा सहभागी हुन उनी केहीबेर अघि काठमाडौँ जिल्ला अदालत आइपुगेका हुन् ।
प्रतिक्रिया