पृथ्वी जयन्तीका अवसरमा जंगी अड्डामा विविध कार्यक्रम
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जंगी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो ।
सो अवसरमा इतिहासविद् प्राडा राजाराम सुवेदी र प्राध्यापक डा. त्रिरत्न मानन्धरले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका र उनको दिव्योपदेशसम्बन्धी प्रवचन दिएका थिए । समारोहमा प्रधान सेनापति सिग्देलले कविता प्रतियोगितामा सकल दर्जा र सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलतर्फ उत्कृष्ट हुनेलाई पुरस्कार र प्रमाणपत्र तथा प्रवचनकर्तालाई प्रशंसा पत्र प्रदान गरे ।
उपरथी दीपककुमार बानियाँले पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले प्रत्येक वर्ष जंगी अड्डादेखि युनिट तहसम्म विविध कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । यस वर्षको पृथ्वी जयन्तीका अवसरमा शाहको जीवनी, दिव्योपदेशसम्बन्धी ५२ वटा प्रवचन, चार वटा पदयात्रा कार्यक्रम, २६ वटा अनुसन्धानात्मक आलेख, कविता, वक्तृत्वकला प्रतियोगिता, दौड र विभिन्न पेसागत कला प्रदर्शन भएका छन् । सेनाले सञ्चालन गरेको विविध क्रियाकलापमा करिब ११ हजार पाँच सय फौज प्रत्यक्षरुपमा सहभागी भएको थिए ।
उपरथी बानियाँले जंगी अड्डा तहमा सैनिक महाविद्यालय स्तरीय लघु नाटक प्रतियोगिता, सकल दर्जा, सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित कविता प्रतियोगितासमेत सञ्चालन गरिएको जानकारी दिए । नेपाली सेनाले पृथ्वी नारायण शाहलाई आफ्नो संस्थापक मान्दै आइरहेको छ ।
“दिवसका सन्दर्भमा गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रालाई निरन्तरता दिइएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ऐतिहासिक साँगुरी गढी पदयात्रा कार्यक्रम यस वर्ष सुनसरीको फुस्रेबाट धनकुटाको पाख्रिबाससम्म थप गरी सञ्चालन गरिएको छ”, कार्यरथी बानियाँले भने ।
सेनाले पहिलो पटक उदयपुर जिल्लामा उदयपुर गढी–चौदण्डीगढी पदयात्रा र इलाममा इलाम नगरपालिका, जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको अगुवाइ र नेपाली सेनाको संयोजकत्वमा नेपाल-भारत सीमानामा पर्ने छब्बीसेदेखि माई स्थानसम्म करिब ३९ किमी दूरीको निशान पदमार्ग पदयात्रा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।
सेनाले सामरिक र पर्यटकीय दृष्टिबाट महत्त्वपूर्ण पदमार्गहरू तथा गढी किल्लाको पहिचान, सञ्चालन सम्बद्ध र प्रचारप्रसारमा पुरातत्त्व विभाग, पर्यटन विभाग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा काम अघि बढाइएको उपरथी बानियाँले जानकारी दिए ।
राष्ट्रिय एकता प्रवर्द्धन केन्द्रित कार्यक्रमबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना थप मजबुद हुने नेपाली सेनाको विश्वास छ । कार्यक्रममा पूर्वप्रधान सेनापति, पूर्वरथीवृन्द, रथीवृन्द, प्राध्यापक, इतिहासविद्लगायत उपस्थित भएका थिए । त्यसअघि प्रधानसेनापति सिग्देलले जंगी अड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्प हार अर्पण गरेका थिए । त्यस अवसमा सेनाको टुकडीले राष्ट्र निर्माता सलामी अर्पण गरेको थियो ।
प्रतिक्रिया