पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा एकीन गरिँदै
गत असोज दोस्रोसाताको बाढी हिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको एकीन सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् ।
बाढी हिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबे किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनः स्थापना शुरु गरिएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताए । ‘व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गाको अवस्था एकीनको विकल्प देखिएन’, उनले भने ।
उनका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ ।
प्रतिक्रिया