पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्र प्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गरेका छन् ।
पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्र प्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताएका छन् ।
‘राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया