संसद भंग गरी ०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हटेको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरूमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले ०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताए ।

उनले संसद भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताए ।

उनले भने ‘समाजवादी मोर्चालाई कसरी फेरि पुनः जागृत गर्ने, पुनः क्रियाशील बनाउने भन्ने विषयमा नै केन्द्रित थियो । यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरू, नेकपा ९एकीकृत समाजवादी०, माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशील बनाउँछौँ । संविधान संशोधनका विषयमा हाम्रो पार्टीले पनि कार्यदल बनाइसकेको छ । त्यसले छलफल गर्नेछ । संविधान संशोधन गर्नुपर्ने कुरा त पक्कै केही न केही छ । स्थानीय निकाय, प्रदेश सभाको कुरा, प्रादेशिक संरचना, केन्द्रीय संरचनाका कुराहरू छन् । सत्ताधारीले के सोचिरहेका छन्, त्यसमा छलफल गरौँला । संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ । कति साँचो हो होइन थाहा भएन । २०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ । ०८७ सम्म चुनाव नै नगरी बस्ने हो की त्यसमा पनि मान्छेले प्रश्न खडा गर्दछन् । संसद नै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलेकै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ की थाहा भएन ।’

अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने बारेमा छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर