पाँच महिनामा समातिए ५८ सय फरार अपराधी, ४३ करोड रुपैयाँ जरिवाना र २ हजार वर्ष कैद असुल
मधेशबाट ब्यक्ति र ब्यूराेकाे जरिवानामा रेकर्ड
प्रहरीले पाँच महिनाको अवधिमा विभिन्न अपराधको फैसलामा अदालतबाट कसुरदार भएका पाँचहजार ८ सय ४६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका यी अपराधीहरुबाट एकहजार ९ सय ६८ वर्ष ९ महिना ८ दिन कैद सजाय असुल हुनेछ । यस्तै जरिवाना वापत ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ असुल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका सातै प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका प्रहरीले पाँच महिनाको अवधिमा पक्राउ गरेका अपराधी, उनीहरुले पाएको कैद सजाय र जरिवानाकाे विवरण बिहीवार सार्वजनिक भएको हो ।
प्रहरी तथ्याँक अनुसार ब्यक्तिका हिसाबले सबैभन्दा कम ५४ जनाबाट जरिवानामा सबैभन्दा धैरै १४ करोड ९१लाख ३ हजार ४१३ रुपैयाँ केन्द्रीय अनुसन्धान ब्यूरोले असुल गरेको छ ।
यस्तै पक्राउ संख्यामा सबैभन्दा धेरै मधेश प्रदेश प्रहरीले १ हजार ५ सय ९४ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट जरिवाना वापतको ५ करोड १६ लाख ११ हजार ४५५ रुपैयाँ असुल उपर हुनेछ ।
यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतले १ हजार २ सय ५३ जनालाई पक्राउ गरेर उनीहरुबाट ९, करोड ९२ लाख ७५ हजार ७१४ रुपैयाँ असुलउपर गराएको छ । यसमा सबैभन्दा धेरै संख्या र रकम जिल्ला प्रहरी परिसर काठमाडौंको रहेको छ ।
उपत्यकापछि लम्बिनी प्रदेश प्रहरी कार्यालयले १ हजार ३५ जना र जरिवाना ३ करोड ८९लाख ८४ हजार ३९ रुपैयाँ बराबरको फैसला कार्यन्वयन गरेको छ ।
यस्तै कोशी प्रदेश प्रहरी कार्यालयले ७३५ जना र जरिवाना ३ करोड १५ लाख ९१ हजार १३७ रुपैयाँ, गण्डकी प्रदेशले ५०६ जनाबाट २ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँ, बागमती प्रदेशको पक्राउ संख्या २६५ र जरिवाना २ करोड ४४ लाख ४३ हजार ८३१ रुपैयाँ असुल गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले २३५ जनाबाट २८ लाख ७२ हजार १२८ रुपैयाँ र कर्णाली प्रदेशले १८९ जनाबाट २६ लाख ६८ हजार ३११ रुपैयाँ कैद जरिवानाको फैसला कार्यन्वयन गरेको हो ।
प्रतिक्रिया