देउवामाथि माधव नेपालको आरोप- कमिसन खान डडेल्धुरा विमानस्थल बनाउन लाग्यो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए । उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए ।

उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे । मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको बताए । विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने बताए ।

उनले भने ‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरू बनाउँछौँ । यो बिल्डिङ नबनाई नहुने स्थिति के थियो रु अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनै पर्ने भएपनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम रु सरकारले अरु ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरू हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ? आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरू दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्सान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ । अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ ।’

अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला बिल्डिङहरू किन बनाएको भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *