लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला धरौटीमा रिहा
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ ।
आज (बुधबार) अदालत हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई थुनामा बस्नु नपर्ने गरी १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा जोडिएकी अञ्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास यसअघि ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् । यता पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।
प्रतिक्रिया