तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ भन्दा बढी घाइते
चीनको तिब्बतमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
प्रतिक्रिया