सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप

सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थपिएको छ ।

आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार आजै राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो ।

डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।

तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् । एआईजी चन्द्रप्रकाश गौतम वैशाखमा अनिवार्य अवकास हुनेछन् । सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ । सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ ।

तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *