नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।
उनले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गरे । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भूमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए । उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए ।
उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताए । उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेको बताए ।
उनले भने ‘नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो भने मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडालाई नियन्त्रण गर्ने अवस्था आउँछ । अन्तर्राष्ट्रिय उडानको हवाई भाडा पनि धेरै बढ्न नदिने र हवाई भाडा नियन्त्रण र सन्तुलनमा राख्ने अवस्था नेपाल एयरलाइन्सले गर्न सक्दो रहेछ । त्यसको लागि के गर्न सकिन्छ भनेर पटक–पटक नेपाल एयरलाइन्ससँग छलफल भएको छ । तर विभिन्न समस्याहरू देखिएका छन् । जसमा जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटि र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौं । पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई एक महिनाको समय दिएका छौं । एक महिनाभित्र सुधारको कार्ययोजना प्रस्तुत गर्नुस् । सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधारको लागि के सोच्नुभएको छ भनेर सोधिरहेका छौं । वाइडबडी सि चेकमा पठाउन नसकिएको कारणले नचल्ने न्यारोबडी पनि सि चेक नहुने अवस्था छ । यसले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुन थाल्यो । त्यसको लागि के गर्ने भन्ने सुझावहरू आइरहेका छन् ।’
उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको बताए । उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रस्तुत गर्न समेत भनिएको उल्लेख गरे ।
प्रतिक्रिया