पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक ४ जनाको मृत्यु
नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको हो ।
विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको छ ।
मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने भएको छ । यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिईँदैछ ।
पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो ?
पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपिभी भाइरसको संक्रमणबाट हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो ।
कारण
९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको कारणले गर्दा हुन्छ। तर यो सँगै सानो उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु, सानो उमेरमा बच्चा जन्माउनु र सरसफाईको कमीले हुन सक्छ।
लक्षण
पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, महिनावारी सुकिसकेको महिलाहरुलाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षणहरु देखिन्छन्।
के गर्ने ?
पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ÷छैन थाहा पाउन अल्ट्रासाउण्ड, सिटीस्क्यान, आइभीयू वा एक्सरे गराउनुपर्छ । थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरि जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया