विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान
झापा जिल्ला अदालतले आज (सोमबार) विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए। आदेश बमोजिम उनी आजै पुर्पक्षका लागि झापा कारागार चलान भएका छन्। घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मंसिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए। ‘प्रहरीको अनुसन्धान सकिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो,’ सूचना अधिकारी बस्नेतले भने, ‘हिजो र आज दुई दिनमा बयान सकिएको छ। आज थुनछेकको बहसपछि उहाँलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो।’
प्रतिक्रिया