प्रहरीको सक्रियतासँगै रौतहटमा अपराध न्यूनीकरण र शान्ति सुरक्षामा सुधार
जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको चार महिनामा अपराध न्यूनीकरण, चोरी निकासी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र फैसला कार्यान्वयनमा अघिल्लो आवको सोही अवधिका तुलनामा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा अघिल्लो वर्षको तुलनामा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ताको सङ्ख्या घटेको तथा भन्सार चोरी निकासीमा संलग्न व्यक्ति र सवारीसाधन नियन्त्रण, स्रोत नखुलेको रकमसहित पक्राउ, फरार प्रतिवादी पक्राउ र प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्नलाई नियन्त्रणमा लिने सङ्ख्या वृद्धि भएको प्रहरी तथ्यांक छ ।
अघिल्लो आवको चार महिनामा पाँच वटा कर्तव्य ज्यान र १४ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएकामा चालु आवको सोही अवधिमा कर्तव्य ज्यानतर्फ पाँच र जबरजस्ती करणीसम्बन्धी नौ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियान सञ्चालन गरेको रौतहट प्रहरीले यस अवधिमा १३ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता र सोही सङ्ख्यामा फर्छ्योट गरिएको छ । अघिल्लो आवको सोही अवधिमा आठ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता र सात वटा फर्छ्योट भएका थिए ।
रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले सत्य तथ्य अनुसन्धान गरी कानूनबमोजिम कार्यान्वयन गरेकाले तुलनात्मक रूपमा प्रगति हासिल भएको बताए । उनले गत चैत २५ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेदेखि भन्सार तथा राजस्व छली, चोरी तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति लिई कठोर कदम चालिएकाले सकारात्मक सुधार देखिँदै गएको जानकारी दिए । चोरी तस्करीमा संलग्न व्यक्ति, सामान र साधन पक्राउ गरी भन्सार तथा राजस्वमा बुझाउँदै आएको, ठूला तस्करी गर्ने र गराउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरिएको उनले बताए ।
रौतहट प्रहरीले सोही अवधिमा भन्सार चोरी निकासीका सामग्री बरामद गरी रु. एक करोड ९५ लाख ३९ हजार पाँच सय दुई राजस्वमा योगदान गरेको छ । ती घटनामा संलग्न एक सय १२ सवारी सधान बरामद र ४४ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रमुख घिमिरेको भनाइ छ ।
ट्राफिक कारबाहीबाट साउन महिनामा रु. नौ लाख २५ लाख पाँच सय, भदौमा रु. आठ लाख ४३ हजार पाँच सय, असोजमा रु. छ लाख ६५ हजार पाँच सय र कात्तिकमा रु. ११ लाख ४९ हजार गरी कुल रु. ३५ लाख ८३ हजार पाँच सय राजस्व संकलन भएको छ । ट्राफिकतर्फ राजस्व अघिल्लो सोही अवधिको तुलनामा घटेको छ । यसअघि सो अवधिमा रु. ५७ लाख ३५ हजार पाँच सय राजस्व संकलन भएको थियो ।
स्रोत नखुलेको रकमसहित पक्राउको घटनामा चालु आवको चार महिनामा रु. १५ लाखसहित तीन जनालाई पक्राउ गरिएको छ । अघिल्लो आवको सोही अवधिमा स्रोत नखुलेको रकमसहित पक्राउका घटना शून्य थिए ।
चार महिनामा १५ वटा चोरीका मोटरसाइकल र दुई वटा चार चक्के सवारीसाधन बरामद गरी सवारी धनीलाई हस्तान्तरण गरिएको छ । सो कसुरमा १८ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । यस अवधिमा फैसला कार्यान्वयनअन्तर्गत फरार रहेका एक सय सात जनालाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । अघिल्लो आवको सोही अवधिमा ८५ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।
अवैध रूपमा काठ कटान तथा गिट्टी बालुवा उत्खनन्मा संलग्न चार जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १२ ट्याक्टर र १७ वटा अन्य सवारी सधान बरामद गरी उक्त कसुरबाट रु. ८० लाख ७८ हजार सात सय राजस्व संकलन भएको छ ।
अपराध न्यूनीकरणसँगै सेवा प्रवाहमा सुधार गरिएको प्रहरी प्रमुख घिमिरेको दाबी छ । प्रहरी कार्यालयमा आउने पीडितलाई सेवा प्रवाहमा सहजीकरण गरी ‘भनसुनबिना काम’ हुन्छ भन्ने विश्वास दिलाइएको उनको भनाइ छ । “बिचौलियाको अभिलेखीकरण गरी त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिएको छ । गुनासो सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको छ । यसबाट नागरिकले सुशासन र शान्ति सुरक्षाको महसुस गरेका छन्”, उनले भने ।
प्रहरी उपरीक्षक घिमिरेले बेलाबखत स्थानीय स्तरमा देखिने समस्यालाई स्थानीय नागरिककै सक्रियता र सहकार्यमा समाधान गरिएकाले कुनै पनि अप्रिय घटना हुन नपाएको बताए । कार्यसम्पादनमा उत्कृष्ट ठहरिएको जिल्ला प्रहरी कार्यालय रौतहटलाई गत असोजमा मधेस प्रदेश प्रहरी कार्यालयले पुरस्कृतसमेत गरेको थियो ।
प्रतिक्रिया