पत्रकार पुडासैनीको देवीघाटमा अन्त्येष्टि
हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ।
काठमाडौँको कपनस्थित कोठामा शुक्रवार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पु¥याएलगत्तै निधन भएको थियो।
शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् तादी र त्रिशूली नदीको सङ्गम देवीघाटमा उनको अन्त्येष्टि गरिएको हो।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए।
नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रवार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत भएका थिए।
नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर पत्रकारितामा सक्रिय थिए।
प्रतिक्रिया