वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन् : सांसद बलायर

विश्व जलवायु सम्मेलन (कोप २९ ) उपलब्धिमूलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरूले रोष व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरूले वन मन्त्रालयका कर्मचारीहरू माथि रोष प्रकट गरेका हुन् ।

वन मन्त्रालयका कर्मचारीहरूको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन् । सार्वभौम संसदका सदस्यको भूमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरूको छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरे ।

राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए । कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हासिल हुन नसकेको तर्क गरे । उनले वन मन्त्रालयका कर्मचारीहरूले सांसदहरूलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाए ।

कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भूमिकालाई समेत वन मन्त्रालयले ओझेलमा पारेको बताए । जलवायु सम्मेलन जस्ता सम्मेलनहरू निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरे । जलवायु परिवर्तनका असरबिरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ ।

ठूलाठूला भौतिक संरचना बनाउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताए । रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोसिस नगर्न चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर