देशभर एकै साथ जलपंक्षी गणना शुरु हुँदै

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंक्षीको संख्या, प्रजाति, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुन लागेको नेपाल पंक्षीविद सङ्घका बरिष्ठ चराविद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए । उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क संकलन कार्य हुनेछ ।

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंक्षी गणना कार्य गरिएको थियो । ‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौंं’, उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य सम्भावित सिमसार क्षेत्रमा चरा अबलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जोसुकैले जान सक्छन् ।’

विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंक्षी गणना कार्य गरिने उनले बताए । भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो । सन् १९८७ देखि नै नेपालमा पनि एशियाली जलपंक्षी गणना कार्य नियमितरुपमा हँुदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणना कार्य निरन्तररुपमा जारी रहेको छ ।

‘जलपंक्षी गणना कार्यले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ’, संयोजक पौडयालले भने, ‘यस गणनामुख्य उद्देश्य पानीमा आश्रित बसाइसराई गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ ।’ यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंक्षीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन् । जलपंक्षी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।

यसले रामसार महासन्धी, प्रवासी प्रजातिसम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पंक्षी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपंक्षी संख्या अनुमान कार्यक्रम जस्ता विभिन्न अन्र्तराष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुर्‍याउने उनको बुझाइ रहेको छ । गत वर्ष सन् २०२४मा गरिएको जलपंक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए । यीमध्ये छ वटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए । बरिष्ठ पंक्षीविद पौडयालका अनुसार यस वर्षको गणना प्रारम्भिक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपंक्षीको संख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । स्थानीयरुपमा जलपंक्षी गणना कार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ ।

उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको संख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वन जङ्गल क्षेत्रमा आउने गर्दछन्। उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजीमा नेपालमा आउने गर्दछन् । यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्रा जस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्ने कार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ । नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपंक्षीमा हाँसका विभिन्न प्रजाति, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *