लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए ।

उनले विमानस्थलहरूको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे । उनले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गरे । उनले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताए । उनले काठमाडौँस्थित त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे ।

अध्यक्ष नेपालले भने ‘कुनैपनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौँ । योजना बनाउँछौँ, परियोजना तय गर्छौं, लगानी गर्छौं तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन । यो कुरा मैले पटक पटक दोहोर्याइरहेके छु । अहिले फेरि मैले सुनिरहेको छु कतिपय ठाउँहरूमा डोमेस्टिक एयरपोर्टहरू निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरूमा जहाज ओर्लिँदैनन्, जहाज पुग्दैनन् । त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को चोटि रिपोर्ट आओस् । मैले मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुपर्याे । बनेका विमानस्थलहरुमा त्रुटि भएको छ कि छैन ? पत्रिकामा पढेको त ओर्तिर पनि विमानस्थल बन्न सुरु भइसकेको छ । नाम भनौँ त्यहाँका सांसदहरूलाई फेरि पिर पर्ला । पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल गगर्यौँ भनेपनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ । भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रीय विमानस्थलको रुपमा सञ्चालन गर्नु एउटा कुरा भयो । बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइयो ?’

भैरहवा विमानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *