अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताएका हुन् ।
उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरूमा छलफल भएको पनि बताए । उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताए । नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए ।
साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताए । सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष पार्टीको रहेको बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
उपमहासचिव ज्ञवालीले भने ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरूमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रीय कमिटीको बैठक समक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ । यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य सुरु गर्नुपर्याे । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू के हुन् रु त्यसको विषयमा चर्चा गरेका छौँ । सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ । थुप्रै कामहरु गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ ।’
उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताए ।
प्रतिक्रिया