नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ।
तथ्यांकअनुसार होटल उद्योगमा साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ। नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटल-रेस्टुरेन्ट रहेको तथ्यांक छ। कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो। यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो।
उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो। डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ-पार्टी प्यालेसको विस्तृत संकलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो।
देशभरका डेढ लाख होटलमध्ये एक हजार एक सय २१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ। जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ। देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो।
सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ। विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो। पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्यांक संकलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
तथ्यांकअनुसार १० करोड रुपैयाँभन्दा बढी स्थायी सम्पत्ति भएका होटल-रेस्टुरेन्ट संख्या चार सय ९३ छन्। तीमध्ये बागमतीमा दुई सय १४ छन्। एक करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म सम्पत्ति भएका होटल आठ हजार सात सय ३२ छन्। दुई लाख रुपैयाँभन्दा कम लगानीमा खुलेका होटल-रेस्टुरेन्ट ६७ हजार पाँच सय २१ छन्।
तथ्यांकमा देशभरि सञ्चालनमा रहेका होटल-रेस्टुरेन्टमध्ये एक लाख ३७ हजार सात सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ। जसको सम्पत्ति चार खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ। नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार तीन सय २७ होटल-प्रतिष्ठान सञ्चालनमा छन्।
जसमा एक खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ। नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल-रेस्टुरेन्ट रहेको छ। सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको संख्या एक लाख पाँच हजार चार सय ५९ रहेको छ।
प्रतिक्रिया