निगमका दुई जहाज ग्राउन्डेड हुँदा डेढ सय कर्मचारी कामविहीन

नेपाल वायुसेवा निगम (नेवानि)का दुईवटै ट्विनअटर विमान बिग्रिएर उडान ठप्प भएपछि आन्तरिकतर्फ कार्यरत पाइलट र इन्जिनियरसहित करिब डेढ सय कर्मचारी कामविहीन बनेका छन् ।

निगमका ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड गरिएका छन् ।

निगमले दुईवटा ट्विनअटर विमानबाट सातामा देशका १८ गन्तव्यमा उडान गर्दै आइरहेको थियो । उडान ठप्प भएपछि इन्जिनियर, पाइलट, प्राविधिकदेखि सेल्स र सपोर्ट स्टाफसम्म कामविहीन बनेका हुन् । निगममा आन्तरिकतर्फ १९ इन्जिनियर, करिब ५० प्राविधिक (टेक्निसियन र सपोर्ट स्टाफ), स्थायी र अस्थायी गरी १५–१६ जना पाइलट तथा एयरहोस्टेस र उपत्यकाबाहिर करिब ४० कर्मचारी कार्यरत रहेको स्रोतको भनाइ छ । ट्विनअटर उडाउनका लागि अस्थायी पाइलट पनि छन्, मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट जहाज ग्राउन्डेड भएसँगै फुर्सदिला भएका छन् । निगममा पाइलटदेखि कर्मचारीसम्म कन्ट्र्याक्टमा काम गर्ने धेरै छन्, जसलाई मासिक करोडौँ तलब–भत्तामा खर्चिनुपर्छ ।

निगमले दुईवटा ट्विनअटर विमानबाट विराटनगर, नेपालगन्ज, डोल्पा, सिमिकोट, दाङ, सुर्खेत, मुगुको ताल्चा, जुम्ला, बाजुरा, रुकुम, थामखर्क, खानीडाँडा, भोजपुर, फाप्लु, ताप्लेजुङ, रेसुङ्गा, इलाम, रुम्जाटारलगायत विमानस्थलमा उडान गर्दै आइरहेको थियो । निगमले नेपालगन्जलाई बेस बनाएर पश्चिम क्षेत्रका सातवटा गन्तव्यमा उडान गर्न मात्रै ११ कर्मचारी कार्यरत छन् । स्रोतका अनुसार विराटनगरमा आठ वर्षदेखि उडान नभए पनि पाँचजना कर्मचारी कार्यरत छन् । विराटनगरबाट भोजपुरमा उडानतालिका राखिए पनि नियमित उडान भने नभएको स्रोत बताउँछ । सुकेटार, भोजपुर, रुकुम, ताल्चा, फाप्लु, खानीडाँडामा तीन–तीन, बाजुरा, सिमिकोट, जुम्लामा दुई–दुई र गुल्मीको रेसुंगामा एकजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *