अन्तर्वार्ता

चिसाेमा हुने ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन् : डा. सुवास पन्त

भिडियाे-स्टाेरी

देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महसुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् ।

कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुविधा हुन्छ । हामी यसै दुविधामा परेर सिकिस्त हुन्छौँ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा. सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताए । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बताए ।

डा पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेर्न अप्ठ्यारो महसुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिए । प्रस्तुत छ, काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुवास पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश:

देशभर चिसो बढेको छ, चिसोसँगै प्रदूषण पनि बढेको हो ?

प्रायजसो चिसो महिनामा प्रदूषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदूषण उच्च हुने हो । चिसो महिनाहरूमा बिहानको समय प्रदूषण उच्च हुने गरेको छ । प्रदूषणको मात्रा पानी कम भएर पनि बढ्छ नै । दोस्रो, धुलोहरूलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदूषण बढ्ने गरेको छ ।

यो समयमा कस्तो खालको सङ्क्रमणको जोखिम रहन्छ ?

सङ्क्रमणबारे प्रायः सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरू (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भीर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भाइरस भनेर भन्ने गर्दछौँ । अर्को रुघाखोकी चाहिँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ । यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ ।

जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरू पनि यही समयमा बढी हुने गर्दछ ।

चिसोको समयमा अस्पतालहरूमा कस्ता खालका बिरामीहरूको चाप बढी हुन्छ ?

जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरूको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरूमा चाहिँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरू नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ ।

रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ?

साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरू हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा । साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ? इन्फ्लुएन्जाका विभिन्न प्रकारहरू हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहिँ बुझ्नुपर्यो मान्छेहरूले ।

रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको सिकार हुनुपरेको हो ?

इन्फ्लुन्जाका पनि धेरै प्रकारहरू हुन्छन् । हामी छुट्याउनुपर्ने चाहिँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरू पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मान्छेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरू हुँदैन । इन्फ्लुन्जामा यो सबै कुराहरू थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हुँदैन । जटिल हुँदै जाँदा निमोनियाहरू हुने चाहिँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ । जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहिँ साधारण कुराहरू पनि जटिल भइसकेको हुन्छ । अरूलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ती ग्रुपका प्यासेन्टहरुलाई कहिले काहीँ आजको भोलि नै गाह्रो भइसकेको हुन्छ ।

तपाईँलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदि रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ । केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ ।

हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौँ, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ?

रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरू नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ । तपाईँले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्रायः सबैलाई हुने गर्दछ । त्यही चिज विद्यालयमा हुँदा चाहिँ हामी सतर्क हुन्छौँ । हात धुन्छौँ । विद्यालयमा पनि असावधानीका कारण प्रायः सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ ।

यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरूमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवतः दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ । अरु दीर्घकालीन बिरामीहरूलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरूको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सीमित हुन पाउँदैन । त्यही कुरा जटिल भइदिन्छ ।

जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरू अलि बढी बिरामी हुन्छन् नि ?

इम्युनिटी कम भएका मान्छेलाई सङ्क्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुघाखोकी भएपनि यी समूहका मान्छेहरूमा संक्रमण बढी हुने चान्स हुन्छ ।

यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरू के—के हुन सक्छन् ?

मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन । त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहिँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरू लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ ।

चिसो याममा हाम्रा आनीबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ रु तपाईँको सल्लाह के छ ?

चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरूले ध्यान दिनुपर्छ । पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरूमा मुख्यतः यो समयमा स्वास्थ्य समस्याहरू बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदूषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई । मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदूषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदूषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन् जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ ।

खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरू खानुभएन । फलफूलहरू खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरू घाममा बसेर खानुपर्यो । फलफूलमा पनि भिटामिन सी युक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुपर्यो र भिटामिन सियुक्त फलफूलहरू खानुपर्‍यो ।

घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरी छुट्याउने ?

घाँटी दुखाइको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहिँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं । निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहिँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहिँ सामान्य घाँटी दुखाइको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहिँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो ।

चिसाबाट जोगिन नागरिकलाई तपाईँको सुझाव के छ ?

मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुपर्यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुपर्यो । अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरूले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ ।

चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो । त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरू देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाइले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्पूर्ण छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर