पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित २०२६ एशियन गेम्सको तयारी : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ को एसियन गेम्सको तयारी गरिरहेको बताएका छन् ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेलपोषण कार्यक्रमको समापनको अवसरमा आईतवार सदस्यसचिव घिसिङले २० औं एशियाली खेलकुदका लागि विशेष तयारी शुरु गरिएको बताए ।

नेपालले १९ औं एशियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी एसियन गेम्सको तयारी शुरु गरेको हो । सो कार्यक्रममा सदस्यसचिव घिसिङले अहिलेसम्म स्वर्ण जित्न नसकिएको उल्लेख गर्दै २० औं एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत विशेष तयारी गरिएको बताए ।

यस पुस्ताका खेलाडी र प्रशिक्षकमा स्वर्ण जित्ने जिम्मेवारी आएको उहाँको भनाइ छ । उहाँले न्युनतम सेवा सुविधा भएपनि खेलाडीको प्रशिक्षण गरिएको बताए । साथै रणनीति योजनाका रूपमा पदकका सम्भावना बोकेको खेलाडीलाई वैदेशिक प्रशिक्षणका साथै राम्रो प्रशिक्षक झिकाएर पनि तयारी गर्ने सदस्यसचिव घिसिङले बताए ।

सदस्यसचिव घिसिङले मिसन २०२६ अनुरूप खेलाडीलाई प्रशिक्षणमा मात्र सिमित नगराउने पनि स्पष्ट पारेका छन् । तयारीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, सुविधा सम्पन्न फिटनेस र अन्य आवश्यक पर्ने सबै पक्ष खेलाडीले तयारीका क्रममा पाउने उनको भनाइ छ ।

उनले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोट्र्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि शुरु भइसकेको बताए ।

उनले खेलाडीको पुरस्कारको व्ययवस्था कानूनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गरे । घिसिङले तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसँग प्रतिष्पर्धा गर्न निश्चित योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिँदै जोड दिए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले जित्न नसकेको पदक अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैँले जितेसरह हुने धारणा व्यक्त गरे ।

प्रशिक्षकहरूका तर्पmबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको उल्लेख गर्दै पाएको अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद् नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताइन् ।

यो विशेष प्रशिक्षण गत वर्षको मंसिर १ गतेदेखि शुरु भएको हो । विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका कुल ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *