हिन्दु जागरणका अभियन्ता आचार्यको निधन
हिन्दु जागरणका अभियन्ता सन्तोष आचार्यको निधन भएको छ ।
मस्तिष्कसम्बन्धी समस्यासँग जुधिरहेका उनको उपचारको क्रममा शनिवार निधन भएको हो । ४१ वर्षिय आचार्यको गृहजिल्ला झापाको भद्रपुरमा शनिवारनै अन्त्येष्टि गरिएको छ।
हिन्दू धर्मको संरक्षण र जागरणमा अहोरात्र सक्रिय रहँदै आएका आचार्य लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित थिए ।
हिन्दू स्वयंसेवकका सक्रिय कार्यकर्ता आचार्य नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल संवाद केन्द्रमा पनि थिए । सनातन धर्म, हिन्दू परम्परा र दर्शनको प्रचारप्रसारमा उनले सामाजिक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरे । फेसबुकमा करिब ३० हजारभन्दा बढी फलोअर भएका उनका प्रत्येक पोस्टले युवाहरूमा सनातन धर्मप्रतिको रुचि र विश्वास जागृत गराउने गरेको थियो ।
उनका लेखहरू विभिन्न सञ्चारमाध्यम र शोध प्रकाशनहरूमा प्रकाशित छन्। मोहन श्रेष्ठद्वारा लिखित धर्मान्तरणको धन्दा पुस्तकको प्रकाशन उनले गरेका थिए ।
सामाजिक हितका लागि जीवन समर्पित गरेका आचार्य निडर, निर्भिक र विद्वान् व्यक्तित्वका रूपमा परिचित थिए । सनातन धर्ममाथि भएका योजनावद्ध आक्रमणको चिरफार गर्दै उनले लेखनीलाई हतियार बनाउँदै सनातन मूल्य र परम्पराको संरक्षण गरेका थिए ।
आचार्यले पर्दाफास डटकममा समेत लेख लेख्ने गरेका थिए ।
प्रतिक्रिया