ठूला होटलले पाउनै छाडे पाहुना
बाह्य पर्यटकको कम आवागमन र साना होटेल धेरै भएपछि ठुला होटेलहरूले विदेशी पाहुना पाउन छाडेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती, महँगो हवाई भाडा र होटेल क्षेत्रमा देखिएको प्रतिस्पर्धाका कारण राजधानीलगायत मोसफलमा रहेका होटेलले नयाँ ‘बुकिङ’ पाउन छाडेका हुन्।
गत वर्षको तुलनामा नयाँ सानाठूला होटेल थपिएको र पोहोरभन्दा विदेशी पाहुनाको आवागमनसमेत घटेका कारण अहिले होटेलले पुराना ग्राहकबाहेक नयाँ पाहुना पाउन छाडेको होटेल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन्।
‘अहिले देशभरका होटेलको वार्षिक क्षमता ३५ लाख रहेको छ तर होटेल क्षेत्रमा भित्रिएको प्रतिस्पर्धा र बाह्य पर्यटकको आगमन घट्दा अहिले काठमाडौँमा मात्रै होइन पोखरा, चितवन, नगरकोट, धुलिखेल, लुम्बिनीलगायत क्षेत्रका होटेल एक तिहाइ क्षमतामा मात्रै सञ्चालनमा छन्’, उनले भने।
अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने होटेल, रेष्टुरेन्ट अहिले आन्तरिक पर्यटकमा निर्भर हुनुपरेको छ।
आरोहण र पदयात्राका लागि आउने खर्चालु पर्यटक आउन बन्द भएसँगै अन्नपूर्ण क्षेत्र, मुस्ताङ, स्याङबोचेलगायतका उपल्ला हिमाली क्षेत्रमा रहेका होटेल बन्द भइसकेको शाहले बताए।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार क्रिसमस र नयाँ वर्ष जस्ता चाड विदेशी पर्यटकले आफ्नै देश, परिवारमा मनाउने गरेकाले पनि अहिले बाह्य पर्यटकको आगमन घटेको हो। अहिले भारत, बङ्गलादेशलगायतका मुलुकबाट आउने पर्यटक र विभिन्न मेला, महोत्सवले आन्तरिक पर्यटन चलायमान रहेको सरोकारवाला बताउँछन्।
सन् २०२४ को नोभेम्बरमा गत वर्षभन्दा भन्दा १० हजार पर्यटक घटेका छन्। झञ्झटिलो हवाईयात्रा लगायतका कारण पछिल्लो समय पर्यटकले नेपाल आउन गरेको बुकिङ रद्द गरेका कारण अन्तिम महिनामा पनि पर्यटकको आगमनमा असर पुग्नसक्ने शाहको अनुमान छ।गोरखापत्र दैनिकमा समाचार छ
प्रतिक्रिया