श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । शनिबार बिहान ११ः५५ बजे काठमाडौं अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिंघे अपराह्न लुम्बिनी गएका छन् ।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण आफ्नै हिसाबले गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति बिक्रमासिंघेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी १७ पुसमा स्वदेश फर्कनेछन् ।

नेपाल–श्रीलंका सम्बन्ध
नेपाल र श्रीलंकाबिच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास स्थापना र सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो ।

यस्तै, काठमाडौंमा सन् १९९३ देखि श्रीलंकाको आवासीय दूतावास छ । नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापक सदस्य हुनाका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य पनि हुन् । दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दामा समान विचार प्रस्तुत गर्नाका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार संगठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलंकाबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलंका सरकारले सहयोग गरिरहेको छ । श्रीलंकाले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर