जनकपुरमा बेलायती राजदुत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए
नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् ।
मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गरेकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताए ।
फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी छन् । बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा, दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरुले जानकी मन्दिरमा दर्शन पनि गरे ।
फेनले जुलियालाई अँगुठी पनि लगाएर वर्षगाँठ मनाए । उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए ।
जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताए ।
प्रतिक्रिया