निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनको स्वीकारोक्ति छ । उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समीक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए । उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमी कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने ‘विमानस्थल सञ्चालनका सन्दर्भमा थुप्रै चुनौतीका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्यायोजना कार्यान्वयनको समीक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरूलाई कार्ययोजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरूलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौँ ।’
उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो प्रबन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । उनले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूलाई मर्जर गर्दै लैजानुपर्ने बताए ।
उनले भने ‘एउटा निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रबन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न । त्यो कुरामा हामीले ध्यान दिनुपर्छ । हेलिकप्टरको यात्राले हाम्रो एड्भेन्चरलाई खण्डित गरेको देखिन्छ । निजी क्षेत्रसँग हेलिकप्टर हुनु सबल पक्ष भएको विदेशीहरूले समेत बताउँदै आउनुभएको छ । निजी क्षेत्रहरूले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्ने उहाँहरुले गरेको वायु र ध्वनि प्रदूषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ । त्यो गर्ने दिशामा जानुपर्दछ । हेलिकप्टर कम्पनीहरूलाई सोच विचार गरेर स्वीकृति दिने र स्वीकृति पाइसकेका कम्पनीहरूलाई पनि मर्जरको दिशामा लैजानेबारे सोचिरहेका छौं ।’
उनले हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया