स्थानीय तहका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । उनले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । उनले भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरूलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भूगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ । हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनः निर्माण, पुनः स्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ । हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ । जनशक्तिका रूपले, आर्थिक रूपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ । कानुनी रूपले संरचना निर्माण गरेका छौँ तर अब ती संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ । विपद् जोखिमलाई न्यूनीकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।’
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताए । उनले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताए ।
प्रतिक्रिया