सहकारी ठगी प्रकरण : आज होला त रविको बयान ?
पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको वयान आज (बिहीबार) पनि जारी रहने भएको छ ।
हिजो सार्वजनिक बिदा परेकाले बयान भएको थिएन । कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान भइरहेको छ । अहिलेसम्म गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ । मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो ।
उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको अधिकारीले बताए । प्रतिवादीहरुको बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन । पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने सूचना अधिकारी अधिकारीले बताए ।
‘उहाँको बयान आज सकिएर अर्का प्रतिवादीको सुरु हुने सम्भावना छ’, उनले भने । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु होला भन्ने प्रश्नमा भने अधिकारीले यो निश्चित नभएको बताए । ‘यो अहिले भन्न सकिने कुरा होइन, उहाँकै पनि हुनसक्छ, अर्का प्रतिवादीको पनि हुन सक्छ’, उनले भने, ‘किनकि अझै ३ जना हुनुहुन्छ।’ सो प्रकरणमा अब लामिछानेसहित रामबहादुर खनाल र कृष्ण गुरुङले बयान दिन बाँकी छ ।
प्रतिक्रिया