नेपाल ट्रस्टको रकम खर्च गर्ने कार्यविधि नहुँदा उपयोगविहीन

दिवंगत राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको वा हक पुग्ने सम्पत्तिको खोजबिन गरी मातहत ल्याएर राष्ट्र हितमा प्रयोग गर्ने उद्देश्यले स्थापित नेपाल ट्रस्ट कार्यालयको कोषमा करिब दुई अर्ब रुपैयाँ छ ।

आवश्यकता यकिन गरेर दुर्गम र सामाजिक रूपमा पछाडि परेका नागरिकको शिक्षा र स्वास्थ्य प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गर्न कोषको रकम उपयोग गर्न पाउने कानुनी मान्यता पनि छ । तर, प्रधानमन्त्री नै संरक्षक रहेर कोष बनेको १६ वर्षसम्म रकम लगानीसम्बन्धी कार्यविधि भने नबन्दा दुई अर्ब रुपैयाँ बैंकको मुद्दती खातामा उपयोगविहीन अवस्थामा थन्किएको छ ।

ट्रस्टबाट प्राप्त तथ्यांकअनुसार हालसम्म कार्यालयको चल सम्पत्ति एक अर्ब ७८ करोड रुपैयाँ छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को अन्तिमसम्म अर्थात् गत असारसम्मको रकम हो । यो रकम कार्यालयले कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खातामा मौज्दात राखेको छ । ८७ करोड १४ लाख कृषि विकास बैंक, ६४ करोड ९३ लाख राष्ट्रिय वाणिज्य बैंक र २५ करोड ९३ लाख नेपाल बैंक लिमिटेडमा छ । ब्याज थपिँदै जाँदा मौज्दात बढ्दै जान्छ । यो अहिले करिब दुई अर्ब पुगेको अनुमान छ । ट्रस्टमातहत आएका सम्पत्तिको भाडालगायत आम्दानीबाट पनि यो रकम वर्षेनी बढ्दै गएको छ ।

नेपाल ट्रस्ट कार्यालयका सहसचिव कुमार दाहाल ऐनबमोजिम कार्यविधि नबन्दा ट्रस्टको आम्दानी रकम लगानी तथा उपयोग गर्न नसकिएको बताउँछन् । ‘ट्रस्टको कोषमा रहेको रकम उपयोग गर्ने गरी अहिलेसम्म कार्यविधि नै बनेको छैन,’ उनले भने, ‘ट्रस्ट ऐन र नियमावलीले कार्यविधि बनाएर मात्र कोषको रकम लगानी र उपयोग गर्न भनेकाले कार्यविधि नबन्दासम्म केही गर्न सक्ने अवस्था छैन ।’ कोषको रकमलाई बृहत्तर उपयोगमा लगाउन सक्ने बाटो कानुनले दिए पनि कार्यविधि नबन्दा अघि बढ्न नसकिएको उनले बताए । चरम प्रशासनिक अस्थिरता र निर्णयहीनताका कारण यस्तो अवस्था आएको दाहालको भनाइ छ ।

नयाँपत्रिका दैनिकमा सुवास भट्टले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर