एचआइभी सङ्क्रमित स्वास्थ्य बिमाबाट बञ्चित
विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् ।
निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् ।
एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन ।
‘एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन, उनले भने, उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।’
निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया