रविको सांसद पद के हुन्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शनको सहकारी रकम अपचलन र सम्पत्ति शुद्धीकरणकाे मुद्दा दर्ता भएसँगै उनकाे सांसद पद के हुने भन्ने विषयमा चर्चा चलिरहेकाे छ।
संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल रहने प्रावधानका अनुसार उनकाे सांसद पद कायम रहने भनिरहेका बेला सम्पत्ति शुद्धीकरण ऐन अनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले सूचना सार्वजनिक गरेकी छन् ।
अदालतबाट अन्तिम रुपमा अभियोग ठहर नभएसम्म लामिछाने सांसद पदमा रहने भनिए पनि जिल्ला न्यायाधीवक्ता काफ्लेकाे भनाईपछि भने अवस्था परिवर्तन भएकाे छ ।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा भने तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा मुद्दा दायर भएर थुनामा रहेमा सांसद निलम्बित हुने भनिएको छ।
तर, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।
ऐनमा उल्लेख भए अनुसारका संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक भन्नेभित्र राजनीतिक दलकाे नेता हुने वा नहुने खुलाइएकाे छैन् ।
प्रतिनिधिसभा नियमावली अनुसार हाललाई सभापति लामिछानेकाे पद कायम रहने तर सम्पत्ति शुद्धीकरण ऐन अनुसार मुद्दा दर्ता भएकाले अब के हुने केही समयमै खुलासा हुनेछ ।
प्रतिक्रिया