महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो- राज्यले बुझेन हाम्रो दुःख
दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ ।
‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन् ।
‘हामीले दुःखमात्र गरेका छाैँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता चार सय ५०, वार्षिक पोशाक भत्ता १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।
घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनाैँ’, उनले भनिन्, ‘वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।’ घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन् ।
घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छन् । उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले बताइन् ।
प्रतिक्रिया