विदेशबाट फर्केर पशुपालन, मासिक एक लाख बढी आम्दानी

बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए । मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भएको छ । सुरुमा चारवटा गाई र दुईवटा भैंसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन् । उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कदै गरेका चारवटा पाडी छन् ।

दूध बेचेर मासिक रु एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूध मात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेका छन् । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ । पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएका छन् । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर