शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग
शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नं ७, ८ र ६ लाई समेट्ने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।
‘चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ, शुक्लाफाँटा-७ का वडा सदस्य केशव ठगुन्नाले भने, चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।’ पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ ।
‘प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ, उनले भने, टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरू फरार हुन्छन्, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताए । उनले वडा नं १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताए ।
प्रतिक्रिया