उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : उर्जामन्त्री खड्का
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् ।
बुधवार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले महसुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए । उनले साथै व्यवसायीहरूको इमानदारिताको आवश्यकता रहेको पनि बताए ।
उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताए ।
उनले भने ‘लाइन काट्नेकुरा समस्याको समाधान होइन । यदि महसुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खालि के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरूको पनि इमानदारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । संसदमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई । व्यवसायी साथीहरूले पनि हामीले तिर्नुपर्ने यति मात्रै हो, हामीले यति मात्रै तिर्छौँ, यो चाहिँ होइन है भनेको भए अझ प्रमाणित गर्न सजिलो हुन्थ्यो होला नि । त्यतातिर पनि म व्यवसायी साथीहरूको ध्यानाकर्षण गर्न चाहन्छु । प्राधिकरणको समस्या के हुन्, यसको छानबिन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।’
मन्त्री खड्काले सबैले इमानदारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताए ।
प्रतिक्रिया