सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्दो
चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्यु हुनेको संख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । एक हजार पाँच सय ७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए।
सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया