विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
सर्लाहीस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।
बागमती नगरपालिका–२ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय, समाजिक व्यक्तित्व, पूर्व विद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न सुरु गरेका हुन् । विद्यालयले गत मंसिर १ गतेबाट ‘बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष’ स्थापना गरेको हो ।
एक महिनामा अक्षय कोषमा रु एक लाख ३० हजार पाँच सय सात सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिए । आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले समाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उनको भनाइ छ । यसरी सङ्कलित रकमबाट निर्माण हुने बृहत् कोषले विद्यालयको विकासमा टेवा पुग्ने उनले बताए ।
‘बृहत् राशिको कोष बनाउने लक्ष्य छ, कोषको मूल रकम यथावत रहनेगरी ब्याजबाट विद्यालयले बर्सेनि विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्नेछ’, प्रधानाध्यापक जिम्बाले भने । यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर बोहराले बताए ।
विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको उनले दाबी गरे । ‘हामीले नगरको प्रत्यक्ष लगानी र जनप्रतिनिधिको उपस्थितिमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा विषेश ध्यान दिएका छौँ, यसले विस्तारै परिणाम दिन थालेको छ । यसको पूरा परिणाम आउन कम्तीमा १० वर्ष लाग्छ । तर सुधारको छनक तपाईँ अहिले पनि देख्न सक्नुहुन्छ’, अध्यक्ष बोहराले भने ।
कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा बालबालिकाको सङ्ख्या दुई गुणाले बढेको छ । मुस्किलले तीन सय छात्रछात्रा भर्ना हुनेमा अहिले छ सय १० विद्यार्थी भर्ना छन् । अभिभावकको माग तथा बालबालिकाको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गराउने गरेको छ । अङ्ग्रेजी माध्यमका कारण अभिभावक आकर्षित भएका विद्यालयका शिक्षक निर्मल तिमल्सेनाले बताए ।
विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यवहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ । सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका बागमती –३ का अभिभावक चत्तुरमान वाइबाले बताए । गाउँको सामुदायिक भनेर हेपिएको विद्यालयले समय अनुकूल पठनपाठन गराउन थालेपछि आफूहरू उत्साहित भएको उनी बताउँछन् ।
यस विद्यालयले केही समय पहिलामात्र स्थानीय अभिभावक, समाजसेवीको रु चार लाख ४० हजारबराबरको सहयोगमा विद्यालयमा चार थान डिजिटल बोर्डको प्रयोग सुरु गरिसकेको छ । यसले समेत बालबालिकामा पठनपाठनप्रति उत्साह देखिएको प्रधानाध्यापक जिम्बाको अनुभव छ । शून्य आन्तरिक आम्दानी रहेको कारण विद्यालयले सामान्य योजना समेत सञ्चालन गर्न नसकेको अवस्थामा यो बृहत् अक्षयकोष कार्यक्रम ठूलो भरोसा बन्ने अपेक्षा विद्यालयको छ ।
प्रतिक्रिया