उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले पनि प्रयोग गर्दै आएका छन् । विसं २०७६ जेठ २६ गते तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथोपटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। हाल उक्त सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ । उक्त सडकमा बिच्छयाइएको ग्राभेल बर्खाको पानीले बगाएको हो । उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर नगएको काठेखोला –७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडक कालोपत्रको ठेक्का छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडक कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ। ठेक्काको म्याद २०७९ जेठ २६ गते सकिएको निर्माण व्यवसायीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्मलाई पुर्याएको छ ।
काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नफर्किदा समस्या भएको छ ।
कोरोना, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताए । उनले केही समयमै सडक कालोपत्र गर्ने दाबी गर्नुभयो । सडकको सुरुआत एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छ भने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा भत्किएको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया