रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (मंगलबार) पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।
लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगर्दासम्म हिरासतमा राख्न म्याद लिनुपर्ने भएकाले अदालतमा उपस्थित गराउन लागिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुँदा पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ। प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगिसकेको छ । रास्वपा सभापति लामिछानेविरुद्धको अनुसन्धानमा राजनीतिक प्रतिशोधको आरोपसँगै हद म्यादको प्रश्न समेत उठेको छ ।
सहकारी ठगीसम्बन्धी पूरक जाहेरी परेको अवस्थामा ९० दिनभित्र मुद्दा दायर गरिसक्नु पर्नेमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भन्दै हदम्याद नाघेर मुद्दा दायर गर्न खोजिएको लामिछानेका कानुन व्यवसायीले बताएका छन् । लामिछानेविरुद्ध गत वर्ष माघमा कास्की प्रहरीमा पूरक जाहेरी परेको थियो । ‘अनुसन्धान र अभियोजनमा हकदैया, क्षेत्राधिकार र हदम्याद एकदमै महत्वपूर्ण हुन्छ,’ एक कानुन व्यवसायी भन्छन्, ‘लामिछानेविरुद्धको मुद्दामा तीनै विषयको ख्याल गरिएको छैन । जसका कारण यो मुद्दा कानुनअनुसार दायर नै हुन सक्दैन ।’
प्रतिक्रिया